Sunday, March 19, 2017

नदेखिएको ललितपुर र राजधानी केन्द्रीत पत्रकारिता

माधवप्रसाद घिमिरे
सुन्नेलाइ सुगम, देख्ने र भोग्नेले दुर्गम जिल्ला भनेर चिन्न सक्ने जिल्ला ललितपुरलाई राज्यको विकासे निकायले मात्र होइन हाम्रो पत्रकारिता क्षेत्रले समेत न्याय गर्न सकेको छैन । भौगोलिक विकटतासंगै आर्थिक, सामाजिक र सुचना प्रविधिको विकासले समेत पीछडिएको ललितपुरका पहाडी भेगका जनताको दिनचर्या निकै नै कष्टकर छ । राजधानीको कोपुण्डोलदेखि अति विकट पारिएको क्षेत्रमा रहेको ठुलादुर्लुङको कपिराङसम्मको भूभागमा ३८५ वर्ग कि.मी. भित्र सीमित जिल्ला हो ललितपुर । समुन्द्र सतहबाट ४५७ मिटरदेखि २८३१ मिटरसम्मको उचाईभित्र पर्ने भूभाग कोपुण्डोल र कपिराङ, माल्टा र मंगलबजार, गिम्दी र गोदावरी, इकुडोल र इमाडोल, गोटिखेल र लगनखेल सुन्दा नजिक जस्तो लागेपनि पुग्न त्यति सहजै छैन । सुन्दा उस्तै लाग्ने तर देख्दा उदेक लाग्ने । जिल्ला एउटै भए पनि काभ्रे र मकवानपुरसंग जोडिएको कपिराङका करिब ९८ घर परिवारको दैनिकी र कुपण्डोलका बासिन्दाहरुको दैनिकीमा कुनै पनि हिसावले समानता पाइदैन । 
पछिल्लो जनगणना २०६८ अनुसार ४,६८,१३२ जनसङ्ख्या र १२१६ व्यक्ति÷वर्ग कि.मी. जनघनत्त्व रहेको ललितपुरको दुई तिहाइ भाग विकासका दृष्टिकोणले कर्णाली र सुविधाका दृष्टिले बत्ती मुनीको अँध्यारोका रुपमा रहेको भेग हो  । हामीले नै यहाँका भूभागहरुलाई नियालेर हेर्न हो भने पत्रकारितामा ललितपुरले न्याय पाएको छैन । विकासका कुरा, समानताका कुरा, सामाजिक न्यायका कुरा, आर्थिक उन्नतीका कुरा उठाइएकै छैन । जिल्लाको कुल भूभागमध्ये दुई तिहाइ भाग पहाड तथा दुर्गममा पर्दछ । तर हामी सुगमलाई हेर्दै समाचार कोरिरहेका छौ । 
पत्रपत्रिका र पत्रकारको हिसावले हेर्ने हो भने ललितपुर कमजोर देखिदैन । किनकी यहाँ करिव ५०० को हाराहारीमा नै पत्रपत्रिकाहरु दर्ता भइसकेका छन् । ललितपुरबाटै निस्कने राजधानी दैनिक र हिमालखवर पत्रिका साथै अन्य स्थानीय पत्रपत्रिकाहरु समेत छन् । पत्रिका मात्रै होइन, पत्राकारहरु पनि त्यही हाराहारीमा नै छन् । पत्रकार महासंघको अहिलेको तथ्याङ्कलाई हेर्ने हो भने पनि पत्रिकाको संख्याभन्दा बढि नै संख्यामा ललितपुर पत्रकार महासंघका सदस्यहरु रहेका छन् । ललितपुरको दक्षिणी भेग जुन भेगले जिल्लाको राजनीतिको रेखा निर्धारण गर्छ । आज त्यही भेग पछाडी पारिएको सन्दर्भमा पत्रकारिताले न्याय गर्नै सकेको छैन । 
इकुडोलका पूर्व गाविस अध्यक्ष गोपाल सञ्जेलकै सल्लाहमा २०६२ असोज ५ गतेका दिन अमृतनाथ तिमल्सिना प्रकाशक र कार्यकारी सम्पादक रमेशप्रसाद तिमल्सिना रहेको ललित सन्देश नामक पत्रिका दर्ता भई सञ्चालनमा आएको हो । त्यसपछि जिल्लाका स्थानीय पत्रकारहरु नै संलग्न भएर स्थानीय स्तरमा पत्रिका सञ्चालनमा व्यापकता आयो । अहिले पनि जिल्लामा स्थानीय समाचारहरुलाई प्राथामिकता दिएर प्रकाशित हुने पत्रिकामा केवल औलामा गन्न सकिन मात्रै छन् । दिगो दृष्टि, मानव आवाज र अनलाइन पत्रिका र ललित सन्देश अहिले पनि निरन्तर प्रकाशित भइरहेका छन् । 
स्थानीय पत्रकारितामा क्रियाशील पत्रकारहरुको पनि कमी छैन । तर कमी छ पीछडिएको क्षेत्रको विषयलाई नियमित रुपमा उठान गर्ने क्षमताको, शक्तिको । उजागर गर्ने शक्तिको, दवाव दिने क्षमताको । आज ललितपुरको पत्रकारिताले यो दिन सकिरहेको छैन । नेता वा पार्टी विशेषका मुखपत्रका रुपमा रहन चाहाने पत्रपत्रिकाहरूले विकास पत्रकारिता गर्न खोज्नेहरूलाई समेत चुनौती थपिदिएका छन् । त्यसकारण पनि नदेखिएको ललितपुरको दर्दलाई स्थानीय पत्रपत्रिकाहरुले समेट्न सकेको छैन । समग्र देशले देखेको यो उपत्यकाभित्र रहेको ललितपुरको मात्रै वयान गरेर नदेखिएको त्यो पहाडी ललितपुरलाई पत्रकारिताले अन्याय गरिरहेको छ । राजधानी केन्द्रीत पत्रकारिताले आज समग्र ललितपुरको प्रतिनिधित्व गरिरहेको छैन । राजधानी केन्द्रीत पत्रकारिता आज नदेखिएको ललितपुरको बाधक बनेको हो कि भन्ने भान हुन्छ । 
व्यवस्थापिका, कार्यपालिका र न्यायपालिकाले सम्पादन गरेका कामकारवाहीको मुल्याङकन गर्दै आम नागरिकलाइ सत्यतथ्य र जनपक्षिय समाचार सम्प्रेशन गर्ने राज्यको चौथो अंगका रुपमा स्वीकारिएको पत्रकारिता क्षेत्रले ललितपुरको भूभागलाई छुन सकेको छैन । हाम्रो पत्रकारिताले स्थानीय जनजीविकाका सवालमा लेखेको छैन । किसानहरुको पीडा, आमा, दिदीहरुको पीडा लेखिएकै छैन । समग्रमा भन्ने हो भने दक्षिण ललितपुरको दर्दलाई बुझ्न सकेको छैन । पत्रपत्रिकाले बुझ्न सकेको छैन । श्रृङ्खलाबद्ध रुपमा उठान गर्न सकेको छैन । सरोकारवाला निकायलाई खवरदारी गर्न सकेको छैन । 
हाम्रो पत्रकारिताले गाउँका भाषा, शैली र दिनचर्या समेट्न सकेके छैन । गाउँको सचेतना तथा भौतिक सेवा सुविधाका सकारात्मक पाटाहरू प्रस्तुत गर्न सकेको छैन । समग्रमा भन्ने हो भने विकास पत्रकारिताको पक्षलाई समात्न सकेको छैन । विकास पत्रकारिता भनेको गाउँको ढुकढुकी नै हो । यी विषयवस्तुहरूमा हामीले एकाग्रन नसकेकै कारण आज विकास पत्रकारिता हराएको छ । सकारात्मक प्रयासहरू र गाउँले जनजीवनलाई प्राथमिकता दिएर समाचार प्रकाशन गर्न सकेनौँ । राजनीतिक दलका नेताहरुको चाकडीमा अल्झेर विकासे अड्डाका चिल्ला कुरामा अड्किएर विकास पत्रकारिताका कुरा मात्र गरेर समय खेर फाल्ने काम गरिरहेछौ । नदेखिएको ललितपुरलाई उजागर गर्नेगरी पत्रकारिता हुनै सकेको छैन । 
ललितपुर जिल्लाको दक्षिणी भेग जहाँ खानेपानीको सहज व्यवस्थापन छैन्, किसानले उत्पादन गरेको दुध बजारसम्म सहज रुपमा आउने वातावरण अझै पनि छैन । किसानले आफुले उत्पादन गरेको उपजको उपयुक्त मुल्य पाउन सकेको छैन । यातायातको सहजता छैन, खेतवारीमा उत्पादन भएका तरकारी तथा कृषिजन्य उत्पादनलाई सहज रुपमा बजारसम्म ल्याउने व्यवस्था छैन । आफूूले उत्पादन गरेको फलफुुल तरकारी सहज रुपमा बजार ल्याएर बिक्री वितरण गरी आयआर्जन गर्न सकिरहेका छैनन् । नदेखिएको ललितपुरका यी नै कुरा आज किन हाम्रा पत्रिकाका हेडलाइन बन्न सकिरहेका छैनन् । कारण हामीले यो विषयलाई छुनै सकेका छैनौ । यो हामी ललितपुरका सबै पत्रकारहरुले स्वीकार गर्नु पर्छ । राजधानी केन्द्रीत पत्रकारितालाई विकेन्द्रीत गर्दै गाउँ–गाउँ, बस्ती–बस्तीका खबरहरुलाई उजागर गर्न हाम्रा कलमहरु तिखारिनु आवश्यक छ । 

No comments:

Post a Comment